झापाको दमकमा फोहरमैला व्यवस्थापन गर्न प्रशोधन केन्द्र
दमक । झापाको दमकमा फोहरमैला व्यवस्थापन गर्न रु एक करोड ५० लाखको लागतमा प्रशोधन केन्द्र निर्माण गरिएको छ ।
नगरमा उत्पादित फोहरमैलाको दीर्घकालीन व्यवस्थापनका लागि नगरपालिकाले प्रशोधन केन्द्र स्थापना गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार आव २०७१÷७२ र गत आव २०७२÷७३ को विनियोजित पूर्वाधार निर्माणका लागि रु एक करोड ४० लाखको लागतमा केन्द्र निर्माण गरिएको हो ।
त्यस बजेटबाट दमक–३ स्थित बेलडाँगीको हंसेदुम्से सामुदायिक वन क्षेत्रमा घेराबेरा, तीनकोठे कार्यालय भवन, प्रवेश मार्ग तथा प्रशोधन केन्द्रसम्म पुग्ने ६२ खम्बा सहित थ्रिफेज विद्युत् लाइन जडान जस्ता पूर्वाधारका काम सम्पन्न भइसकेको नगरपालिका, वातावरण शाखा प्रमुख द्रोण थापाले बताए । अब केन्द्रमा फोहर प्रशोधनका उपकरण जडान गरिँदैछ ।
केन्द्र यसै वर्षदेखि सञ्चालनमा ल्याइने तथा फोहरमैलालाई आम्दानीका रुपमा विकास गरिने नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताए । दमकमा अहिले दैनिक ११ टन फोहर उत्पादन हुँदै आएको र ती अस्थायी ल्यान्ड फिल साइटमा राखिँदै आएको छ । -मेची आवाजबाट



