टिके, बिके र ओके पत्रकारको विपक्षमा

सरगम भट्टरार्इ | प्रसिद्ध लेखक आलन वार्थले भनेका छन्, ‘पत्रकारहरु नै इतिहासको एक मात्र खेस्रा लेखक हुन् ।’ सुन्दै गौरव लाग्ने यो भनाई मनन गर्दा हामी इतिहाँसको खेस्रा लेख्ने पत्रकार आफै निष्ठावान र स्वतन्त्र हुन सकेनौँ भने हाम्रा सन्ततिले पढ्ने र गौरव गर्ने हाम्रै इतिहास कस्तो होला ? त्यसैले समाजको ऐना बनेका पत्रकारले आफ्नो ऐना पनि समाजलाई देखाउनुपर्छ भन्ने अडानमा छु म ।

केहि दिन अगाडि वरिष्ठ पत्रकार प्रतीक प्रधानले बाह्रखरीमा ‘पत्रकार कि भर्जिन पत्रकार’ भनेर बडो सटीक रुपमा पत्रकारिताका केहि दुर्बल पक्षहरु उजागर गरिदिँदा आम मान्छेहरुलाई पत्रकारका कालो मैलो कामको बारेमा जानकारी भयो । उहाँले बडो राम्रो बिषयको उठान त गर्नु भो तर त्यो बिषय उठान क्लाईमेक्समै पुग्न नपाई अधुरै रहेको महसुस मलाई भयो । म २०५६ तिर शौखको रुपमा पत्रकारितामा लागेको तथा यसै बिषय अध्ययन गरेको र पत्रकारका गतिविधि नजिकबाट नियालेकाले यसमा केहि कुरा थपौँ कि भन्ने लागेकोले उहाँकै पदचाप पछ्याएर अघि बढ्ने कोसिस गरेको छु।

मलाई ती अब्बल, निष्ठावान र स्वतन्त्र पत्रकारहरुको श्राप नलागोस जो अपवादको रुपमा छन, जसले अहिलेसम्म आफ्नो गतिलो बास बनाउन सकेका छैनन् । काठमाडौको परिप्रेक्ष्यमा पौडी पोखरीको सेरोफेरोमा घुमिरहेको पत्रकारहरुको हर्कत मोफसलमा भने बिभिन्न सरकारी गैरसरकारी कार्यालय धाउने र रिपोर्टिङको नाममा खाम हात पार्नु पनि हो । अझ मौसमी बेमौसमी बिज्ञापनको बील बोकेर ती कार्यालयका हाकिमको कार्यकक्षमा बेला बेलामा झुम्मिएको, थर्काएको र चाकडी गरेको यी आँखाले देखेकै हो ।

अहिले ठ्याक्कै कस्तो छ मैले तथ्यांकगत रुपमा तोकेर भन्न त सक्दिन तर दलका झण्डामुनि बसेर दलकै भजन गाउने पत्रकार, गैरसरकारी संस्थाको खर्चमा प्रायोजित मनगढन्ते बिकासे खबर छापेर खाम प्राप्त गर्ने, ब्यावसायिक घरानाका घटीया उत्पादनमा गुणस्तरका फरिया लगाईदिएर बढिया बनाएर लेखिदिने पत्रकार, जात, धर्म र सम्प्रदायको बदख्वाईँ गरेर चर्चा बटुल्न खोज्ने पत्रकारहरुको बारेमा प्रतीकजीले बोल्नु भएको छैन ।

त्यसैगरी, शक्तिकेन्द्रको सत्तो श्राप गरेर अन्त्यमा ठूलो खाम पाएर तीनैलाई नोबेल पुरस्कार दिईनुपर्छ भन्ने छेपारे पत्रकार, तथा योग्यता बिना कसैको आशिर्वादले पत्रिका बेच्दै गर्दा एउटा दुईवटा समाचार लेखेर परिचय पत्र बनाई भएका पत्रकार, जुन सरकार आउँछ, त्यसैका नेताहरुको अभूतपूर्व चाकडी गरेर टिकेका पत्रकार क्लबहरु, पश्चिमाहरुको डलर लिएर नेपाली कलर(रंग)को विभाजन गर्ने पत्रकारको बारेमा कसैले बोल्ने आटै गरेको छैन ।

पत्रकारिताले साख गुमाउनुमा पत्रकार मात्र दोषी कसरी हुन्थे ? कसैको जुठो खाएपछि त्यसको गुन त तिर्नै पर्यो । अझ सित्तैमा हाकिमहरुसँग भट्टीमा भट्भटाएको र भोलिपल्ट उनैका प्रशंसाका शब्दजालहरु बिछ्याएर तारिफ गरेको पनि पढिएकै छ । अमेरिकामा भर्खरै मच्चिएको भात काण्ड पनि त्यस्तै लगामहीन र स्तरहीन पत्रकारिताका कारणले उब्जिएको हो । पत्रकारिता नबुझ्ने मान्छे र पत्रकारिताको धर्म निर्वाह गर्न नसक्ने केहि पत्रकारले आफ्नै पेशाको लाज छोप्न नसक्नुले पत्रकारहरु सित्तैमा खाने, धेरै खाने समूहको रुपमा बिकसित भएको तथ्य मनन गर्नैपर्छ ।

पत्रकारिताको भर्जिनिटी नष्ट हुनुमा अरुको भन्दा हामी पत्रकारकै दोष बढी छ । आज पत्रकार भनेर चिनाउँदा लाज लाग्ने अवस्था आउनुमा पत्रकार क्षेत्रमा हुल्लडहरुको बिगबिगी भएर हो भनेर लेख्न किन डराउने ?

मेरा एक सहपाठी मित्र छन् । नाम खुलाई राख्नु आवश्यक छैन । उनको शैक्षिक योग्यता एसएलसी भन्दा माथिको होईन, जिल्लामा अमुक दलमा आवद्ध हुँदा हुँदै उनी अमुक दलकै पत्रिका (मुखपत्र ?) मा संवाददाताको रुपमा काम गरे, समाचार लेख्नसम्म नजानेर अरुले लेखेको समाचारको ठ्याक्कै नक्कल गरि लेख्थे, जिल्ला विकास समिति, नगरपालिका र भन्सार कार्यालयमा बेला बेलामा पुग्थे, यहाँसम्म कि बसमा समेत पत्रकारको कार्ड देखाएरै सित्तैमा यात्रा गर्न पछि पर्दैनथे । पछि दल सम्बद्ध पत्रकारको नेता हुँदै अहिले माथि पुगेका छन् । अहिले पनि उनको लेख्ने शैली सुध्रेको छैन तर उनी वरिष्ठ पत्रकार भैसके । दलको चश्मा लगाएर गरेको पत्रकारिताबाट के आश गर्न सकिन्छ र ? जिल्लामा चाकडी राम्रै गरेपछि काठमाडौ जान समेत प्लेनको टिकट माग्न नहिच्किचाउने उनको हर्कत देखेपछि उद्योगी र ब्यापारीहरु समेत भेट्न हिच्किचाउँथे । अहिले पनि उनको हर्कत जारी नै छ ।

सित्तैमा आफू तथा आफ्नो परिवारलाई पौडी पोखरीमा तैराउने र सिनेमा हलमा छिराउने त गौण कुरा हुन् । सत्यलाई बङग्याएर समाजमा भ्रम छर्ने पत्रकारहरु उत्तिकै सक्रिय छन् । मानौ समाज र सरकारका आकर्षक निकाय उनीहरुका लागि दुहुना गाई हुन, कहिले दाना खाएको खुशीमा लेख्छन् कहिले खान नपाएको झोकमा लेख्छन्, कहिले दलको हनुमान बनेर लेख्छन, कहिले टाट बनेर लेख्छन् । (फेरि पनि क्षमा माग्छु जो स्वतन्त्र पत्रकारिता गर्छन, मलाई तिनीहरुको श्राप नलागोस) अझ पत्रकारिताको धर्म र आचारसंहिता नबुझेका, बिभिन्न शक्ति केन्द्रको चाकडी गरेरै पत्रकार भएकाहरुको बारेमा अब बोल्न हिचकिचाउनु हुँदैन ।

अझ अहिले त अनलाईन मिडियाको जमाना चलेको छ, कुनै घटना परिघटनाको समाचार दश पन्ध्र मिनेटमै संसारभरि पुग्ने, कतिपय बेला गम्भिर कुराहरु पनि हचुवाको भरमा लेखेर, समाचारको सत्यतालाई दवाएर झूठो शीर्षक राखेर पाठकलाई क्लिक गर्न लगाउने र भ्यू कै आधारमा जीँउ पाल्ने खुराफाती पत्रकारको बारेमा पनि बोल्न आवश्यक छ । अझ पछिल्लो समयमा अनलाइनतिर त ‘रुद्री पत्रकारिता’ झन मौलाएको छ ।

तर एउटा कुरा के हो भने पत्रकार समाजका ऐना हुन र हुनुपर्छ, आफ्नै वरपर घटेका साना घटनाहरुले बाहिरका ठूला घटनाले भन्दा बढि महत्व राख्छन् । कतिपय अवस्थामा चुनौतिको पहाड चढेर, चुनौति मोलेरै भए पनि समाचार सम्प्रेषण गर्नुपर्छ । त्यस्तो महान काम गर्ने सबै पत्रकार पूरै आलोचनाको पात्र कसरी हुन्थे र ? ती कर्मठ र निष्ठावान पत्रकारको जय होस् जसले सत्य र तथ्यगत समाचार बाहिर ल्याएर समाज परिवर्तनमा बेजोड भूमिका निर्वाह गरिरहेका छन् ।

हो, लुमझडी पत्रकार मात्र भएर परिवार त के आफ्नै ज्यानसम्म पाल्न गाह्रो छ, कुनै एउटा दलको पुच्छर बनेन भने पनि अघि बढ्न नसकिने अवस्था छ । तर, परिवार र ज्यान पाल्न स्वाभिमान बेच्दै जाने हो भने जनताले प्राप्त गर्ने सूचनाको वैधानिकता हराउने छ ।

पत्रकारले जहाँ जे पनि सित्तैमा प्राप्त गर्न खोज्नुमा सम्बन्धित मिडियाको झिनो तलब र सरकारी नीति कमजोर हुनु पनि हो । मन लागेको लेख्ने र हुँदै नभएको लेख्ने होडबाजीमा पत्रकारहरु लागि पर्नु बिडम्वना बाहेक केहि होईन । पत्रकारको निश्चित योग्यता, क्षमता र निष्पक्षताको ग्यारेन्टी हुन यसमा वैज्ञानिकता जरुरी छ । टिके पत्रकार, ओके पत्रकार (जे भन्यो त्यही लेख्ने, विश्लेषण गर्न नसक्ने) र बिके पत्रकार (विक्ने)को बिगबिगी भएसम्म पत्रकारिताको नदी स्वच्छ बन्न सक्दैन, राजनीति खराब हुनुमा यीनै टिके, बिके, ओके र चाकडीवाज पत्रकारको पनि दोष छ । तर, अब उनीहरुका बारेमा बोल्न ढिला गर्नु हुँदैन ।

सबैलाई थाहा छ यातायात ब्यवस्था कार्यालयमा घुस बिना कामै हुन्न, अहिले सिसीटीभी क्यामेरा राखिएको छ त्यहाँ तर लाईसेन्स बनाउँदा ड्राइभिङ इन्स्टिच्युटकै मिलेमतोमा हाकिमहरुको भाग छुट्टिन्छ, यही पङ्क्तिकासंग मोटरसाईकल नामसारी गर्ने काममा लेखन्दास मार्फत घुस मागिएको प्रमाण सुरक्षित छ । नापी र मालपोतको अवस्था त्यस्तै छ । भन्सारका कर्मचारीले करोडौँ रुपैयाँ कम मूल्याङ्कन गरेर या चोरबाटो भित्र्याएर कुम्ल्याउँछन् । त्यस्ता समाचारहरु झिना समाचार बन्छन, या बन्दैनन् । तनै कार्यालयहरुमा पत्रकारहरु खाम थाप्न गएको मैले आफ्नै आँखाले देखेको छु । त्यसो त कतिपय सरकारी तथा गैरसरकारी संस्थाहरुले पत्रकारहरुलाई अनुगमन खर्च समेत छुट्याईदिएका हुन्छन्, उनीहरुको भक्तिगान गाईदिए वापत ।

त्यति मात्र होईन ट्राफिक नियम मिचेर पनि पत्रकारको कार्ड देखाएरै उन्मक्ति माग्न खोज्ने, उद्योगी ब्यवसायीसँग पैसा तथा रिचार्ज कार्ड माग्ने, डान्स र क्याबिन रेष्टुरेन्टमा छिरेर सित्तैमा खान पल्केकादेखि प्रहरीकै मिलेमतोमा दुई नम्बरी गाडी चढेर हिड्ने पत्रकार र विभिन्न गिरोहसँग मिलेर अवैध गतिविधि गर्न सघाउने पत्रकारको पनि पर्दाफास गर्नु जरुरी छ । राजनैतिक दलका नेताहरुले नियम कानून मिचे जस्तै केहि पत्रकारले नियम मिचेर अन्त्यमा जोगिनकै लागि पत्रकार हूँ भन्दा एक निष्ठावान पत्रकारको मन कति अमिलो हुन्छ होला ?

त्यसैले राज्यको चौथों अंग कहलिएका पत्रकार सित्तैमा पाएपछि अलकत्र पनि खाने अलकत्रकार भए भने देशमा सुशासन हुन सक्दैन । मिडिया वाचडग हुनुको सट्टा स्यालहुइया मात्र बनेर यसले पत्रकारिताको लाज ढाक्छ जस्तो लाग्दैन । सङ्लो पत्रकारिता गर्नेले छुटेका कुरा औल्याईदिनु भए या टिप्पणी गर्नु भए आभारी हुनेछु । हैन भने पत्रकारिता र नेपालको समसामयिक राजनीतिमा तात्विक फरक हुने छैन । अझै हाँसका बिचका बकुल्लो बनेका निष्ठावान पत्रकारलाई चिनाउन प्रतिकजीकै शब्दमा– ‘उहाँ तपाईले सोँचेजस्तो पत्रकार होईन है’ भनेर चिनाईरहनु पर्ने कहिले सम्म हो थाहा छैन ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |