प्रिय पुस्तक : नेपाली दाजुभाइको पीडा दर्शाउने ‘खबुज’
सबिना कार्की, सञ्चारकर्मी मैले भर्खरै पढेको हुँ ‘खबुज’ उपन्यास । अस्ति दशैंभरिमा पढेर सकेँ । यसपालि हाम्रोमा दशैं नभएकोले बिदामा यही नै खुराक भयो ।
यो किताब मलाई लेखक सुबिन भट्टराईले पढ्न सिफारिश गरेका थिए । उनको उपन्यास ‘मनसुन’को लन्च गर्ने कार्यक्रममा म प्रस्तोता भएकोले कार्यक्रम के-कसरी गर्ने भन्नेबारे लेखक, प्रकाशन संस्था फाइन प्रिन्टका निरज भारी र म भेटेर सल्लाह गरेका थियौं ।
त्यही बेला किताबहरुबारे कुराकानी हुँदा सुबिनले ‘खबुज’ त पढ्नैपर्ने खालको भनेर सुझाए । भारतको मलयालम भाषाका लेखक बेन्यामिनको किताब (आडु जिविदम) को नेपाली अनुवाद रहेछ, ‘खबुज’ । तर, अनुवाद भए पनि किताबलाई एकदम न्याय गरेको छ भनेपछि झन् पढ्ने हुटहुटी लाग्यो । पछि निरजबाट किताब पाएँ ।
नजिब नामका पात्रको खाडी जिन्दगीको संघर्षपूर्ण यात्रा नै उपन्यासको कथावस्तु हो । किताब पढिरहँदा पात्रले पाएको सास्ती देख्दा मन सिरिङ्ग भइरह्यो । केही महिनाअघि मेरो परिवारकै एकजना आफन्तको दुबईमा मृत्यु भएकोले यो किताबको प्रभाव अझ बढी पर्यो । मेरो श्रीमानको आफन्तको त्यसरी एकाएक मृत्यु भएको थियो । दशैंको टीकाको दिन शव नेपाल आइपुग्यो ।
त्यसो त वैदेशिक रोजगारीमा खाडी मुलुक गएका नेपाली दाजुभाइले दुःख पाएको र अकालमै ज्यान गुमाएको बारेमा समाचारमा धेरै पढिराखिएकै हुन्थ्यो । तर, आफैंलाई परेपछि मात्र त्यसको मर्म थाहा भयो । रहरलाग्दो उमेरमा कमाउन विदेश गएका छोरा, भाइभतिजा, पतिको मृत्यु हुँदा घरपरिवारमा कस्तो विपद् आइलाग्दो रहेछ भनेर अनुमान गरेँ ।
‘खबुज’मा नजिब भन्ने पात्रले नेपाली दाजुभाइको खाडी जिन्दगीको प्रतिनिधित्व गरेका छन् । दुई-चार पैसा कमाएर ल्याउने सपना सजाउँदै ऊ एउटा कामको लागि विदेश पुगे पनि भेडा गोठालाको कष्टपूर्ण काम पाउँछ । त्यो पात्र मार्फत मैले खाडीको मरुभूमिमा पसिना चुहाउँदै सपनाको डुंगा खियाउने आफ्नै देशका युवाहरुको पीडा महसुस गरेँ ।
नेपाल यति सुन्दर देश हो, जता हेरे पनि हरिया डाँडापाखा मात्र देखिन्छ । मरुभूमिको जीवन हामीले नदेखेको र नभोगेको पाटो हो । तर, किताब मार्फत मरुभूमिको कहाली अनुभूति गर्न सकिन्छ । त्यो मरुभूमिमा उपन्यासको मुख्य पात्रले सागर भेट्छ, दुःख नै दुःखको सागर ! एयरपोर्टमा आफूलाई लिन आउने कम्पनी मालिकको पर्खाइमा बसिरहेको ऊ त्यहाँबाट मालिकको पछि लागेदेखि नै दुःखको सागरमा पर्छ ।
त्यो उजाड ठाउँमा उसले आफ्नो अर्बब (मालिक) बाट क्रूर व्यवहार खेप्दै बाँच्छ, मानौं त्यो दयनीय भोगाइ नै उसको ‘जागिर’ हो । मालिकबाटठ ऊ बारम्बार लात खाइरहन्छ । पर्याप्त खानेपानी पाउँदैन । नुहाउन पाउँदैन । खबुज नामको सुक्खा रोटी टोक्दै आफ्नो भोक जेनतेन शान्त पार्छ र भेडाहरुसँग बात मार्दै निदाउँछ । उसको साथी र संसार नै भेडाहरुको बगाल ।
उपन्यासको कथा पढिरहे पनि यति जीवन्त लाग्यो, हरेक घटना सर्लक्क आँखा अगाडि भइरहे झैं सचित्र आइरह्यो । मालिकले कामदारलाई दिएको सास्ती पढिरहँदा मान्छे यतिसम्म क्रूर पनि हुन सक्छ र भन्ने लाग्यो । नेपालमा त त्यस्ता कठोर मान्छे हुँदैनन् जस्तो लाग्छ ।
हुनेखाने मान्छेहरु राम्रो र विकसित देशमा गएर सुरक्षित जीवनयापन गर्छन्, नसक्नेहरु नजिब र हाम्रा देशका सयौं दाजुभाइ जस्तै खाडी मुलुक गएर असुरक्षित श्रम गर्न बाध्य हुन्छन् । एउटा काममा जाँदा अर्कै काम आइलागेर पीडित हुन्छन् । तोकिएको तलब पाउँदैनन् । त्यो अवस्थामा उनीहरु आफ्नो लहलह सपनामाथि खडेरी झेल्छन् । वैदेशिक रोजगारीमा गएकाहरुमध्ये थोरै मात्र भाग्यमानी हुन्छन्, जसले राम्रो काम, राम्रो कम्पनी र राम्रो मालिक पाउँछन् ।
वैदेशिक रोजगारीको सकारात्मक पाटो हुँदै नभएको होइन । आजका धेरै युवाका लागि कमाएर घर-परिवारको अपेक्षा र सपना पूरा गर्ने आकर्षक गन्तव्य हो विदेश । नेपालको हकमा रेमिट्यान्स भित्र्याउने स्रोत नै हो । तर, यसको भित्री पाटो हेर्ने हो भने जोकसैको आङ जिरिङ्ग हुन्छ । घरमा बूढा बा-आमा, श्रीमती र कलिला लालाबाला छोडेर भविष्य बन्ला भनेर विदेशिँदा अनेक सास्ती खेप्दै कतिपयले जीवन समेत गुमाउँछन् । ऊ सँगै सिंगो परिवारको सपना चकनाचुर हुन्छ ।
विदेशी भूमिमा गएर कमाउने सपना पाल्नेहरुले एकचोटि पढ्दा उपयुक्त हुन्छ यो किताब । विदेश भनेको के रहेछ, कस्तासम्म समस्या आइपर्न सक्ने रहेछन् भन्नेबारे धेरै आइडिया हुन्छ । यसबाट कसैको लहैलहैमा लागेर, बिना आधार विश्वास गरेर विदेश जानुहुँदैन भन्ने पाठ पनि लिन सकिन्छ ।
sabeenakarki@gmail.com
(कुराकानीमा आधारित)
२०७३ कार्तिक १३ गते १०:५८ मा प्रकाशित



