करोडकी गायिका - मेलिना राई
—‘कम्मरमाथि पटुकी, पटुकीमाथि घैला, घैलामा कुवाको पानी...’
—‘शिरमा शिरबन्दी, कानैमा मेरो झुम्का, नाकैमा फुली मेरो आँखैमा गाजल...’
यी दुई लोकप्रिय गीत गाउने गायिका यतिबेला नेपाली सांगीतिक आकाशमा चर्चाको शिखरमा छिन् । २३ वर्षीया यी गायिका आधुनिक गायनमा अब्बल त छिन् नै, चलचित्रको पाश्र्व गायनमा समेत उत्तिकै जमेकी छिन् ।
साप्ताहिकसँग गरेको कुराकानीको आधरमा मेलिना राईको प्रस्तुत लेख ।
पछिल्लो समय औसत दिनमा दुईवटा गीत रेकर्ड गराइरहेकी यी गायिकाले पछिल्लो एक वर्षमा स्वदेश तथा विदेशका सांगीतिक कार्यक्रमहरूमा सहभागिता जनाएर झन्डै १ करोड रुपैयाँ पारिश्रमिक लिइसकेकी छिन् । सांगीतिक क्षेत्रमा प्रवेश गरेको छोटो समयमै स्टेज भित्र, बाहिर तथा चलचित्रको पर्दामा स्थापित हुन सफल ती गायिका हुन्— मेलिना राई ।
बाल्यकाल
मोरङ जिल्लाको रमितेखोला पुख्र्यौली घर भए पनि मेलिना राईको जन्म मामाघर खर्साङमा भएको हो । १४ वर्षअघि अभिभावकहरूसँग काठमाडौं आएकी मेलिनाका बुवा जिवेश राई पनि संगीतकर्मी हुन् । बुवा नै संगीतकार तथा संगीत प्रशिक्षक भएकाले मेलिनाले बाल्यकालदेखि नै संगीतिक वातावरणमा हुर्कने अवसर पाइन् । बुवासँग संगीत सिक्न आउने विद्यार्थीहरूकै छेउमा बसेर संगीत सिक्न थालेकी मेलिनाले बाल्यकालमै केही गीत रेकर्ड गर्ने अवसरसमेत प्राप्त गरिन् ।
पहिलो पटक स्टुडियोमा प्रवेश गरेर गीत रेकर्ड गर्दा मेलिनाको उमेर ११ वर्ष थियो । बुवा जिवेसकै संगीत निर्देशनमा मेलिनाले स्वदेश गीत ‘हिमालको काखमा छ’ गाएकी थिइन् । उक्त गीतमा मेलिनालाई गायक जसदीप राईले साथ दिएका थिए । १२ वर्षको उमेरमा मेलिनाले ‘धेरै चिसा रात...’ शीर्षकको आधुनिक गीत रेकर्ड गराइसकेकी थिइन्, जसमा गायक बालदीप राईको पनि स्वर थियो । स्कूलमै छँदा मेलिनाले पहिलो एकल गीत गाइन्, जसका संगीतकार थिए राम धिमाल, जो उनी अध्ययरत विद्यालयका संगीत प्रशिक्षक समेत थिए । एसएलसी दिनुअघि नै झन्डै आधा दर्जन गीत रेकर्ड गराएर मेलिनाले आफ्नो सांगीतिक सम्भावना देखाइसकेकी थिइन् । स्कुलमा छँदा मेलिनाले थुप्रै प्रतिस्पर्धामा पुरस्कार जितेकी थिइन् ।
अध्ययन र संघर्ष
सांगीतिक वातावरणमा हुर्किए पनि मेलिना आफ्नो अध्ययनलाई बाधा पुर्याउने गरी संगीतमा सक्रिय भइनन् । जोरपाटीस्थित अरुणोज्योति विद्या मन्दिरबाट राम्रो अंक ल्याएर एसएलसी उत्तीर्ण मेलिनाले अंग्रेजी साहित्य तथा समाजशास्त्रमा स्नातक उत्तीर्ण गरेकी छिन् । मेलिना यतिबेला अंग्रेजी साहित्यमा स्नातकोत्तर अध्ययन गर्ने तयारी गर्दैछिन् ।
एसएलसी दिएपछि मेलिनाले संगीतलाई अध्ययन जत्तिकै महत्त्व दिन थालिन् । एकातिर उनलाई बुवाको साथ र सहयोग थियो भने अर्कातिर उनी घरबाहिर निस्किएर संगीतमा आफ्नै प्रकारको संघर्ष गर्न चाहन्थिन् । त्यसताका उनले गाएका गीत युट्युबमा उपलब्ध नहुने हुँदा उनी सीमित मानिसबीच मात्र चिनिएकी थिइन् । चार वर्षअघि विनोद खम्बुको संगीत निर्देशनमा मेलिनाले गाएको ‘छाडिजाने भए जाऊ मायालु’ गीत युट्युबमा अपलोड भएपछि उनलाई श्रोताहरूले चिन्न थाले । युट्युबमा अपलोड भएको उनको पहिलो आधिकारिक गीत पनि त्यही थियो । संघर्षका दिनमा मेलिना अन्य थुप्रै गीत गाइन् तर ती गीतबाट उनले खासै उपलब्धि भने हासिल गर्न सकिनन् ।
टर्निङ प्वाइन्ट
संगीतकार ताराप्रकाश लिम्बूसँगको भेटलाई गायिका मेलिना राई आफ्नो सांगीतिक करियरको टर्निङ प्वाइन्ट मान्छिन् । पहिलो भेटमै मेलिनाबाट एउटा एफएमको जिंगल गाउन लगाएका ताराप्रकाशले थप एक–दुईवटा कलेक्सन एल्बममा अवसर दिएपछि चलचित्र ‘नोभेम्बर रेन’ मा पाश्र्व गायन गराए । युवराज चौलागाईं तथा रजिना रिमालसँगै मेलिनाले ‘तिमीलाई के भनौं’ गीतमा स्वर दिइन् । त्यही क्रममा गायिका रोजी लाबुङ राईको एल्बममा ताराप्रकाशकै संगीतमा गाएको एउटा गीतका कारण मेलिनाको भेट संगीतकार वसन्त सापकोटोसँग भयो ।
उक्त एल्बमको अर्को एउटा गीतमा सापकोटाको पनि संगीत भएकाले विमोचन समारोहमा उनले मेलिनाको स्वर सुने । सापकोटालाई चलचित्र ‘नाइँ नभन्नु ल–३’ को पूर्वेली भाकाको एउटा गीतका लागि एउटा नयाँ स्वर चाहिएको थियो, मेलिनाका रूपमा उनले त्यो स्वर फेला पारेको निष्कर्ष निकाले । सापकोटासँगको दोस्रो भेटमै मेलिनाले गाइन्— ‘कम्मरमाथि पटुकी, पटुकीमाथि घैला....।’ उक्त गीत कम समयमै यति लोकप्रिय भयो कि त्यो गीतको सफलतासँगै उनले पछाडि फर्किएर हेर्नु परेन । स्कुल, कलेजदेखि अधिकांश नृत्य प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा जमघटहरूमा समेत यही गीत बज्न थालेपछि मेलिना राईको खोजी हुन थाल्यो । मेलिना भन्छिन्— ‘कम्मरमाथि पटुकी...मेरो सांगीतिक जीवनकै टर्निङ प्वाइन्ट बन्न पुग्यो ।’
‘कम्मरमाथि...गीतले मेरो सांगीतिक जीवनमा परिवर्तन ल्यायो, मेलिना भन्छिन्, ‘मैले सफलताको स्वाद कस्तो हुन्छ भन्ने कुराको अनुभूति गर्ने मौका पाएँ, सफलताको खुलेर सेलिब्रेट गर्ने मौका पाएँ र त्यसलाई इन्जोय गरेँ । यो गीत लोकप्रिय भएपछि के–के गरें, के–के, शब्दमा वर्णन गर्न सक्दिनँ ।’ ‘उक्त गीत गाउनुअघि जसरी मलाई सीमित श्रोताले मात्र सुनेका थिए, उक्त गीतपछि मेरो स्वर एकैपटक मासमा गयो, मासले मन परायो, दुई वर्षअघिका क्षण स्मरण गर्दै मेलिना भन्छिन्— ‘मैले कल्पना समेत नगरेको सफलता पाएँ । मैले अपेक्षा गरे भन्दा बढी सफल भएकोमा आफूलाई भाग्यशाली समेत मानें ।’
पाश्र्व गायन
‘कम्मरमाथि पटुकी’ को लोकप्रियतासँगै मेलिना राईले आधुनिक गीतभन्दा चलचित्रको पाश्र्व गायनका लागि बढि समय छुट्याउनुपर्ने भयो । कम्मरमाथि पटुकी... अघि नै मेलिनाले पुन्टे परेड, नाइके, तमसजस्ता चलचित्रमा गीत गाइसकेकी थिइन् तर उक्त गीतको लोकप्रियतापछि मेलिना त्यसपछि निर्माण भएका अधिकांश चलचित्रमा सुनिन थालिन् । त्यही क्रममा वसन्त सापकोटाले नै उनलाई अर्को एउटा लोकप्रिय गीत गाउने मौका दिए । व्यवसायिक रूपमा खासै सफल हुन नसकेको चलचित्र ‘हाउ फन्नी’ को ‘शिरैमा शिरबन्दी...’ गीतले मेलिनालाई ‘कम्मरमाथि पटुकी...’ को जस्तै ख्याति दियो । अघिल्लो गीतमा मेलिनाको स्वरमा नृत्य गर्ने नायिका प्रियंका कार्की नै शिरैमा शिरबन्दी...मा पनि दोहोरिन् ।
त्यसपछि प्रियंकालाई मेलिनाको पाश्र्व गायन सुहाउने सकारात्मक प्रतिक्रियासमेत सुनिए । ‘कम्मरमाथि पटुकी’ तथा ‘शिरैमा शिरबन्दी...’ गीतको लोकप्रियतापछि मेलिनालाई चलचित्र ‘क्लासिक’ का दुईवटा गीतले ‘क्लासिक सिंगर’ को उपाधि दियो । अघिल्लो वर्ष प्रदर्शन भएको यो सांगीतिक चलचित्रका ‘सुनौलो हर बिहानी’ तथा ‘प्रकृतीको सुन्दर सृष्टि’ गीतको लोकप्रियताले मेलिना लोकशैलीका गीतमा मात्र होइन शास्त्रीय शैलीका गीतमा समेत अब्बल छिन् भन्ने कुरा प्रमाणित भयो । एकपछि अर्को गर्दै चलचित्रको पाश्र्व गायनमा सक्रिय मेलिनाले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दर्पणछायाँ–२’ का सम्पूर्ण गीत गाउने अवसर पाएकी छिन् । चलचित्र ‘राधा’ को ‘छपक्कै फूल फूल्यो वनैमा...’ गीतबाट पनि मेलिनाले उत्तिकै आशा गरेकी छिन् ।
सांगीतिक कार्यक्रमको सक्रियता
हालसम्म झन्डै तीन सयवटा गीत गाइसकेकी मेलिना राई सांगीतिक कार्यक्रममा समेत उत्तिकै व्यस्त छिन् । झन्डै तीन दर्जन चलचित्रमा पाश्र्व गायन गरिसकेकी मेलिनाले आधुनिक गीतमा पनि उत्तिकै समय खर्चिरहेकी छिन् ।
पछिल्लो एक वर्षमा मेलिनाले कतिवटा सांगीतिक कार्यक्रममा सहभागिता जनाइन् होला ? मेलिना भन्छिन्— ‘ठ्याक्कै गन्न त भ्याएकी छैन तर कम्मरमाथि पटुकी...लोकप्रिय भएपछि धेरै नै व्यस्त छु ।’ मेलिनाले काठमाडौंसहित पूर्वी नेपालका भोजपुर, खोटाङदेखि गाईघाट, इटहरी, बेलबारीजस्ता सहरहरूमा धेरै पटक आफ्नो गीत–संगीत प्रस्तुत गरिसकेकी छिन् । उनले एक दर्जनभन्दा बढी देशको भ्रमणसमेत गरिसकेकी छिन् । डेढ वर्षअघि पहिलो पटक युरोप टुरमा गएकी मेलिनाले त्यति बेला बेल्जियम, स्विट्जरल्यान्ड, नेदरल्यान्ड तथा जर्मनीमा आफ्ना गीतहरू प्रस्तुत गरेकी थिइन् । एक महिना लामो उक्त कार्यक्रम लगत्तै उनी स्वदेश फर्किएर पुन: बेलायत पुगिन् । बेलायतको डेढ महिना लामो सांगीतिक टूर अत्यन्त सफल भएको मेलिनाको भनाइ छ । आर्थिक रूपमा समेत उक्त कार्यक्रम राम्रो भएको मेलिना बताउँछिन् । बेलायतबाट फर्किएपछि उनले कोरिया, हङकङ, इजरायल, मलेसिया तथा अस्ट्ेरलियासम्म पुगेर आफ्ना गीत प्रस्तुत गरिसकेकी छिन् ।
मेलिना यतिबेला पनि स्वदेशमा छैनन् । उनी मकाउ तथा हङकङको सांगीतिक भ्रमणमा छिन् । ‘सांगीतिक कार्यक्रमको पारिश्रमिक आयोजक अनुसार फरक–फरक हुन्छ, मेलिनाको भनाइ छ— ‘कुनै कार्यक्रममा राम्रो पारिश्रमिक हुन्छ भने कतिपय सामाजिक कार्यक्रममा सित्तैमा पनि गाउनुपर्ने हुन्छ ।’
मेलिनाले अहिलेसम्म गाएका कार्यक्रमबाट कति पारिश्रमिक पाइन् होला त ? उनले ठ्याक्कै रकम तोक्न आनाकानी गरिन् । ‘पछिल्लो वर्ष एक करोड रुपैयाँभन्दा बढी नै आम्दानी भएको चर्चा छ नि ?’ भन्ने जिज्ञासामा मेलिनाले मुस्कुराउँदै जवाफ दिइन्—‘त्योभन्दा बढी पनि हुन सक्छ, घटि पनि हुन सक्छ । सांगीतिक कार्यक्रमको सहभागिताले हामी गायक–गायिकाको आर्थिक अवस्था सुध्रिने रहेछ भन्ने कुराचाहिं म आफैले अनुभव गर्न थालेकी छु ।’
नेपाल बाहिर आयोजना हुने सांगीतिक कार्यक्रमहरू जातिगत रूपले कत्तिको विभाजित छन् ? भन्ने अर्को एउटा जिज्ञासामा मेलिनाले अनभिज्ञता जाहेर गरिन् । ‘यदि म राई परिवारकी छोरी भएकैले धेरै भन्दा धेरै कार्यक्रमबाट निमन्त्रणा आएको हो भनिन्छ भने त्यो गलत हो, मेलिनाको तर्क छ— ‘यदि त्यस्तो हुन्थ्यो भने त दुई वर्षअघि नै मलाई विदेशका कार्यक्रमहरूमा बोलाइन्थ्यो होला नि ।’ मेलिनाले आफ्ना गीत लोकप्रिय भएकाले दर्शक तथा श्रोताको माग अनुसार नै आफूलाई विदेशका कार्यक्रममा बोलाएको दाबीसमेत गरिन् ।
रेकर्डिङ र रियाज
केही वर्षअघिसम्म मेलिना हरेक बिहान तीन–चार घण्टा नै रियाज गर्थिन् । ‘अहिले दुई घण्टाभन्दा बढि रियाज गर्न भ्याउँदिनँ,’ मेलिनाका अनुसार सांगीतिक कार्यक्रम तथा रेकर्डिङका कारण उनको रियाज गर्ने अवधि छोटिएको हो । यतिबेला उनी प्रत्येक दिन कम्तिमा दुई वटा गीत रेकर्ड गराइरहेकी छिन् । ‘कुनै दिन पाँचवटा गीत पनि रेकर्ड गरेकी छु, कुनै दिन खालि पनि हुन्छ, मेलिनाका अनुसार उनले पछिल्लो ६ महिना यता महिनामा ४० वटाजति गीत रेकर्ड गर्न भ्याइरहेकी छिन् ।
‘एउटा गीत रेकर्डिङ गरेको कति पारिश्रमिक लिनुहुन्छ ?’ मेलिनाले घुमाउरो पारामा भनिन्— ‘ठ्याक्कै यति पारिश्रमिक लिन्छु भनेर तोकेकी छैन । स्रष्टाअनुसार भिन्न–भिन्न हुन्छ ।’



