गौरीगंज, खजुरगाछी, कोरोबारी र महाभारा गा.वि.स., गौरीगंज गाउँ पालिका हुँदै
कुमार राई, गौरीगंज | स्थानीय तह पुन:संरचना आयोगले झापा जिल्लाको पुन: संरचना विवाद, लामो छलफल र वादविवादपछि शनिबार आयोग सदस्यहरु माझ भएको मतदानले बहुमत दलले पठाएको १५ वटा स्थानीय तहको प्रस्तावलाई पारित गरेको छ ।
आयोग सदस्य निरज शाहले आयोगका बहुमत सदस्य आयोगले तोकेको मापदण्डका आधारमा निर्णय लिनुपर्ने पक्षमा उभिएपछि त्यही अनुसारको निर्णय भएको जानकारी दिए । आयोगले झापा जिल्लालाई १० देखि १६ सम्म स्थानीय तहको प्रस्ताव गरेर पठाएको थियो ।
आयोग स्रोतका अनुसार अध्यक्ष सहित ९ सदस्यीय आयोगमा ५ जना सदस्य झापामा १५ स्थानीय तह हुनुपर्ने पक्षमा हात उठाएर मतदान गरेका थिए भने, २ जनाले ११ को पक्षमा आफ्नो मत राखेका थिए ।
अब गौरीगंज, खजुरगाछी, कोरोबारी तथा महाभारा गा.वि.स. हरुलाई एकिकृत गरि गौरीगंज गाउँ पालिका हुने भएको छ साथै गौरिगञ्ज-८, ठेकिटोललाई गाउँ पालिका केन्द्रको रुपमा छनौट गरिएको खबरहरु आए पनि अहिले सम्म यस क्षेत्रका राजनैतिक दल, बुद्विजीवि र समाजसेवीहरुले केन्द्र कहाँ बनाउने निर्णय सर्वजनिक गरीएको छैन ।



