झापामा सुविधासम्पन्न पाथीभरा ग्यास उद्योग सञ्चालनमा
झापा | ऊर्जा सङ्कट भइरहेका बेला झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा १५ करोड रुपैयाँको लागतमा अत्याधुनिक र सुविधासम्पन्न पाथीभरा ग्यास उद्योग शनिबारदेखि सञ्चालनमा आएको छ ।
नेपाल सरकारले ग्यासबाट चल्ने गाडी आयात गरे पनि ‘हाइ–वे’मा ग्यासको स्टेन्ड राखेर ग्यास उपलब्ध गराउन सक्ने गरी ग्यास उद्योग सञ्चालनमा ल्याइएको उद्योगका प्रबन्ध निर्देशक लय भण्डारीले आयोजित पत्रकार सम्मेलनमा बताए । ५०० टन क्षमताको लक्ष्य राखेर उद्योग सञ्चालनमा ल्याइएको र आजमात्रै तीन हजार ५०० सिलिन्डर बजारमा पठाइसकेको अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।
झापाका ऊर्जाशील व्यवसायीसँग सहकार्य गर्दै दुई बिगाहा क्षेत्रफलमा उद्योग सञ्चालनमा रहेको र उद्योगमा २५ जनाले प्रत्यक्ष रोजगार पाएको पत्रकार सम्मेलनमा बताइएको छ। अत्याधुनिक प्लान्ट निर्माण गरेर ग्यास उत्पादन सुरु गरिएको बताइएको छ। ५० हजार सिलिन्डर एकसाथ बजारमा पठाइने र ग्यासको अभाव हुँदा पनि मेची अञ्चलवासीलाई सहजरुपमा ग्यास उपलब्ध गराउने प्रतिबद्धतासहित हामीले ग्यास उद्योग सञ्चालनमा ल्याएका हौँ – उद्योगका प्रबन्ध निर्देशक भण्डारीले भन्नुभयो।
पाथीभरा ग्यास उद्योगसँगै झापामा ग्यास उद्योगको सङ्ख्या चार पुगेको छ । मेची, पराजुली, कनकाई यसअघि सञ्चालनमा आएका ग्यास उद्योग हुन् । रासस



