पत्रकारलाई छुट आउनुहोस पत्रकार बन्नुस छुट पाउनुहोस ।
कबिता
मोरङका पत्रकारलाई
अस्पतालमा आधा छुट,
चितवनका पत्रकारलाई
गेस्ट हाउसमा आधा छुट ।
दाङमा त समितिकै निर्णय छ
गाडी भाडा ४० प्रतिशत छुट ।
इलाम झन् के कम
आफ्नै गुटको महासंघ खोल्ने छुट ।
धुवाँ धुलोयुक्त काठमाडौंमा
आधा उमेरै छुट ।
सोच्दैछु, दाङबाट गाडी लिएर
चितवन बास बस्ने,
अनि इलाममा आफ्नै महासंघ खोल्न जाँदा
कदाचित् घाइते भइएछ भने
मोरङमा उपचार छुट छँदैछ ।
मरिहालिएछ भने पनि
जीवन विमा जिन्दावाद ।
बरु, इनरुवामा खाजा र लहानमा खानको पनि कसैले अफर गरे हुने ।
सञ्चार मन्त्रीले फ्ल्याट दिएकै छन् ।
सुशील दा’को कार चढेर हिड्यो भने त
धुलोबाट पनि बचिन्थ्यो,
तर, बुढा गैगए र पो ।
तैपनि निःशुल्क आवास र जीवन विमा सम्झिँदा
आधा उमेर गए जाओस् काठमाडौं नै जाउँ कि जस्तो भइरा’छ ।
आफैंले पनि नगरेको कहाँ छ र ?
न्यूनतम पारिश्रमिकमा सहीछाप गरेर
मालिकलाई आधा छुट दिएकै छ ।
त्यसैले तथ्य प्रमाणमा आधा छुट हुँदा
उनले चित्त बुझा’का छन् ।
त्यसैले ख्यालख्यालमै थोरै नगद पत्रकार,
धेरै जिन्सी पत्रकार हुँदै गइएको छ ।
सोच्छु, कालान्तरमा जिन्सी मात्रै भिडाएर ढुंगेयुगमै फकाउँछन् कि ?
हे यमराज, मरेपछि पत्रकारका लागि
माफी मिनाहाको प्याकेज ल्याउ,
ताकि, प्रेस पास देखाएर चित्रगुप्तको भन्सारबाट सहजै उम्किन पाइयोस् ।
नत्र, काठमाडौं धुलो जति पनि खाइन्छ तिम्रोमा आइन्न ।
सोच, तिमीलाई मिडिया कभरेज चाहिन्छ कि चाहिन्न ।
© भानुभक्त आचार्य, अप्रिल १, २०१७ ।




