आम हडताल सहित मधेसी मोर्चाको आन्दोलन घोषणा
आन्दोलनरत मधेसी मोर्चाको संघीय गठबन्धनले आम हड्तालसहितका विभिन्न कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। मधेसी मोर्चाले सरकारले घोषणा गरेको निर्वाचन बिथोल्ने आन्दोलनका कार्यक्रम तय गरेको हो।
मोर्चाको आइतबार बसेको बैठकले आफ्ना मागका बारेमा सरकार उदासिन रहेको आरोप लगाएको छ। उसले माग पूरा गर्नुको साटो सरकारले औपचारिकताका लागि मात्रै निर्वाचनमा सहभागी हुन आह्वान गरेको भन्दै कडा आन्दोलनका कार्यक्रम बनाएको हो।
उपेन्द्र यादव, राजेन्द्र महतो महन्थ ठाकुरलगायत मोर्चाका शीर्ष नेताको सहभागितामा तय भएको वैशाख ५ देखि ३१ गतेसम्मका विरोध कार्यक्रममा जुलुस प्रदर्शन, धर्ना, आमसभा तथा बन्द हडतालसम्मका छन्।
संविधान संशोधन भए पनि वैशाखमा हुने स्थानीय तहको निर्वाचन आफूहरूको प्राथमिकतामा नरहेको कार्यक्रममा बोल्दै मोर्चाका संयोजक उपेन्द्र यादवले बताए।
उनले आफूहरूको पहिलो माग संविधान संशोधन र त्यसपछि केन्द्र ,प्रदेश र प्रदेश मातहत स्थानीय तहको निर्वाचन भएको बताए।
संविधान संशोधनलगायत विभिन्न माग राखेका मोर्चाले चैतसम्म सरकारलाई माग पूरा गर्न अल्टिमेटम दिँदै माग पूरा नभए दीर्घकालीन आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो ।



