नोटको चलखेल अर्थात "कत्ल कि रात"

मदन राजवँशी मनप्रीत, गौरीगन्ज | चुनाब अघि मौन अवधिको दुइ रातले मत परिणाममा ठुलो महत्व राख्छ । आफ्नो पक्षमा मत झार्न अघिल्लो १ महिना मा गरेको खर्चको कैयौ गुना बढि खर्च यै दुइ रातमा गर्छन्- हरेक उम्मेद्वार ले । राजनितीका मुल चार नितीहरु साम, दाम, दण्ड र भेद मध्ये चारैवटा निती अपनाएर मतदाताको नैतिक हत्या गर्ने रात अर्थात "कत्ल कि रात" – भारतिय राजनितीमा यो मौन अवधिका दुइ रात लाइ कत्ल कि रातको नामले चिनिन्छ । मतदाताको सेन्टिमेन्ट र आर्थिक हैसियतमा 'ईमोशनल गेम' खेलेर उसको नैतिक हत्या गरि यै अवधिमा रातारात मत आफ्नो पक्षमा पारिन्छ । नोटको चलखेलले मात्र हैन, यो दुइ रातमा जातपातको सेन्टीमेन्टले समेत ठुलो भुमिका खेल्छ र यहि नोटको चलखेल र जातिगत सेन्टिमेन्टले मत परिणामको हरेक बिश्लेषणलाइ उल्टाइ दिन्छ ।

मौन अबधि शुरु भएसँगै गौरीगँजमा अनौठो चहलपहल देखिदै छ । एकातिर होहल्ला वाला चुनाची रौनक बन्द भएको छ तर हरेक दल र उम्मेद्वारले गाउ टोलमा मोटरसाइकलको दौडलाइ अझ बढाएका छन् । हिजो मौन अबधिको पहिलो दिन नै हरेक गाउटोलमा गोप्य बैठक बसेर भोट किनबेच भएका अपुष्ट खवरहरु आए । भलै कसैले ति खवरहरु पुष्टी हुने गरि प्रमाण ल्याउन सकेन तर राती देखिएका सँकेत हरुले ति अपुष्ट सुराक हरुलाइ थोरबहुत प्रमाणित गर्यो ।

ईलाका प्रहरी कार्यालय गौरीगँजका ईन्सपेक्टर नारायण गौतमले चुनावी सरगर्मीलाइ मध्यनजर गरि मदिरा र होहल्ला नियन्त्रणमा आफुहरुले जोड दिएको कुरा जाति खोके पानि हिजो गौरीगँज चोकैको मदिरा होटलहरुमा राती ११ वजे सम्म होहल्ला र चुनावि पार्टी चलेको देखियो । त्यति मात्र होइन, अस्ति सम्म राति ११ वजेपछि सुनसान प्राय भइ सक्ने गौरीगँजका सडकहरुमा राती २ वजे सम्म हुलका हुल मोटरसाइकल हुइकिएको देखियो । अचम्म त के भयो भने गस्तीमा रहेका सुरक्षाकर्मिहरुले न त कसैलाइ रोके न त कसैलाइ नियन्त्रणमा लिए । वरु नदेखेझै गरि हरेक दलका कृयाकलापलाइ नजरअँदाज गरिदिए ।

केहि दिन अघि भेटिएका समाजवादी फोरमका उम्मेद्वार बद्री यादवले भनेको कुरालाई सँझिन्छु - "अवको चुनाव हुनेखानेहरुका लागि मात्र हो, गरिवको वसमा छैन यो भोटसोट" । मौन अवधिको यो पहिलो रातले उनको भनाइलाई चरितार्थ गरिदियो । आजै विहान एकजना ठुलै दलका वडा उम्मेद्वारले गुनासो गर्दै थिए - "भ्रष्टाचार, नेताले जन्माएको समस्या हुदै होईन, यो त भोटरहरुले आफै जन्माएको समस्या हो ।" यो कुरालाई उनले अझ यसरी पुष्टी गरे - "म भोट माग्न जादा हरेक ठाउका टाठा वाठाले रक्सी र मासु खान मागे । जसले खान दिन्छ उसैलाई भोट दिने भन्ने उनिहरुको माग नै हुन्थ्यो । यसरी हरेक ठाउमा रक्सी मासु खुवाउदै हिडेर जितेको क्यान्डीडेटले पछी भ्रष्टाचार नगरेर के गर्छ ? नत्र उसले खेत वेचेर गरेको चुनावी खर्च पछी कहावाट उकास्छ ।"

चुनावको यो अन्तीम घडिलाइ गाउका केहि अगुवा र हुनेखाने हरुले नै पैसा कमाउने भाँडो बनाए । दुर्गम तिरका सोझा जनता बरु बिकेको देखिएन । उनिहरु आफ्नो इमानबाट हल्लिएनन् तर आफ्नो पछि दुइचार जना डुलाइ हिड्ने टाठा हरुले आफु सँगको भोट देखाएर सौदावाजीमै ओर्लेको देखियो । हिजो बेलुका ९ बजे सम्म यस्तो पनि लिडर देखिए जसले ३ पटक सम्म पार्टी बदल गरे ।

हिजो का गाउ टोल र होटल भित्रका कृयाकलाप हरुको अनुमानित अध्ययन गर्दा सबै दलको मिलाएर एक रातमै ५० लाख भन्दा बढि रकम को चलखेल भएको देखिन्छ । आजको रात त अझ सग्लै बाकि छ । चुनाबको अघिल्लो रात लाखौ को चलखेले भोट किनेका प्रतिनिधिले यदि जित्छ भने गौरीगँज गाउपालिकाको पछिल्लो अवस्था के होला ? अनुमान गर्न गार्हो छ । यो "कत्ल कि रात" हाम्रो लागि साच्चै आत्महत्या कै रात हो कि ?

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |