मेची खोलाको पानी बस्तीमा पस्दा, भद्रपुरका ६० घर डुबानमा
झापा, ९ साउन । एक हप्तादेखि परेको अविरल बर्षाका कारण कयौं घरहरु डुबानमा परेका छन् भने सयौं परिवार विस्तापित भएका छन् ।
जिल्लाको कन्काई, बिरीङ, निन्दा, अदुवा, टिमाई, मेचीलगायतका नदीहरुमा पानीको बहाब अहिलेसम्मकै उच्च देखिएको छ ।
दैविक प्रकोप उद्धार समितिको टोली आइतबार विहानैदेखि जिल्लाका डुबान क्षेत्रमा अनुगमन गरिरहेको छ । जिल्ला रेडक्रस झापाका सभापति लोकराज ढकालले निरन्तरको बर्षाका कारण झापामा के कति क्षति भयो भन्ने १ बजेपछि मात्र थाहा हुने जानकारी दिए ।
जिल्लाका मेचीनगर, बिर्तामोड, डाँगीबारी, कोहबरा, महाभारी, जलथल लगायतका क्षेत्रहरुका घर डुबानमा परेका छन् ।
निन्दा नदीमा पानीको वहाव बढेसँगै बाहुनडाँगी–३ र मेचीनगर–७ को सिमा क्षेत्रमा निन्दा खोलाको पुर्वी तटबन्द फुट्ने खतरा भएको छ । लगातारको बर्षाका कारण तटबन्द फुट्ने खतरा बढेपछि स्थानिय त्रसित बनेका छन ।
स्थानिय चन्द्र प्रसाईका अनुसार सो खोलाको तटबन्द फुट्दा मेचीनगर नगरपालिकाको कार्यालय भवन सहित ईटाभट्टा क्षेत्रमा समेत डुबानको खतरामा छ ।
यसैबिच धुलाबारी स्थित टिमाई खोलाको पुल दक्षिणमा रहेको बस्तिमा टिमाई खोलाको पानी पस्दा १५ घर डुवानमा परेका छन । टिमाई खोला छिर्दा घरभित्र रहेको खाद्यान्न तथा लत्ताकपडा भिजेको स्थानिय महमद डोमाले बताए ।
यसै बिच दक्षिणी झापाको घेराबारी गाउँ बिकास समितिका वार्ड नम्बर ३, ५ र ६ का करीब ६० घर डुबानमा परेको जानकारी प्राप्त भएको छ ।
त्यसैगरी, मेची नदीमा आएको बाढीले भद्रपुर नगरपालिकाको वडा नं ५ का बस्ती डुबानमा परेपछि उद्धार कार्य भइरहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।
अविरल वर्षाका कारण बिर्तामोडको अदुवा खोलामा आएको बाढीले अधिकांश भूभाग डुबानमा परेको, बिर्ताबजारको मूल सडकमा पानीको बहाव बढ्न गई सवारी अवागमन बन्द भएको, गरामनी पनि डुबानमा परेको, देउनीय खोलाको मासतिर हर्चाना पुल खतरामा परी बिर्तामोड र भद्रपुर ओहोरदोहोर गर्ने सवारी साधन बन्द भएको उपरीक्षक शर्माले बताए ।
झापाका कनकाई, विरिङ, हडिया, कमल र मेचीजस्ता ठूला नदीमा पानीको सतह बढ्दै गई धेरै मानव बस्ती डुबानमा पर्न सक्ने खतरा बढेको प्रहरीको भनाइ छ ।
यसैगरी, चारआलीदेखि चन्द्रगढीसम्मको चारआली सडकखण्डको धनुष मोड, बिपी चोक र सदरमुकामस्थित सडक वर्षाको पानी जम्न गई सवारी आवागमनमा बाधा पुगेको छ ।
वर्षाका कारण नदीमा आएको बाढीले मानवीय तथा भौतिक क्षति नभएको सूचना आएको तर खत्तरामुक्त अवस्था नरहेको प्रहरी नायब उपरीक्षक शर्माको भनाइ छ ।
श्रोत: लोकतन्त्र पोस्ट



