पोखराका बुद्ध लामा बने पहिलो 'नेपाल आइडल'

गौरीगन्ज | पहिलो नेपाल आइडलको उपाधि पोखराका बुद्ध लामाले जितेका छन् । कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै पोखरा नयाँबजारका बुद्ध पहिलो नेपाल आइडलको उपाधि चुम्न सफल भएका हुन्।

उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो । जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका हुन ।

यो जितसँगै उनले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन्। बुद्धलाई लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले पुरस्कार प्रदान गरे। उर्लाबारी मोरङका निशान भट्टराई र झरुवारासी ललितपुरका प्रताप दास क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भए। निशानले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरे भने प्रतापले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाए।

फस्ट रनरअप निशानले १५ लाख रुपैयाँ र सेकेन्ड रनरअप प्रतापले १० लाख रुपैयाँ पुरस्कार हात पारे। विजेता एवं अन्य सहभागीलाई हौसला प्रदान गर्न महजोडी कतार पुगेका थिए।

नेपाल आइडलको समापनसँगै एपी वान टेलिभिजनले अर्को रियालिटी शो ‘नेपाल गट ट्यालेन्ट’ को घोषणा गरेको छ । यो सन् २०१८ को सुरुवातबाट प्रकारण हुने बताइएको छ ।

को हुन् बुद्ध ?

२०५४ साल मंसिर ८ गते पोखरामा जन्मिएका बुद्ध लामाको पुर्ख्यौली थलो धादिङको लापा हो । उनको परिवार २०४२ सालमा पोखरा बसाईं सरेको थियो ।

बुद्धका बुवा सन्तबहादुर लामा नगरपालिकाको स्वीपर काम गर्छन् भने आमा गृहिणी हुन् । उनका बुबा आमाको स्वर पनि राम्रो छ । उनीहरु गाउँमा गीत गाउनेको नाममा चिनिन्छन् ।

आफ्नो बिद्यालय महेन्द्र माविमा बाल दिवसको कार्यक्रममा गाउँदै उनले सांगीतिक करिअर सुरु गरे । घर परिवारले पनि उनको सोखमा होस्टे गरिरहृयो । उनका लागि आवश्यक बाद्ययन्त्र खरिद गर्न परिवारले कन्जुस्याईं गरेन ।

दिदी भिनाजुको मार्गदर्शनमा उनले त्रिवेणी संगीतालयमा संगीत सिक्न थाले । सानै उमेरदेखि त्रिवेणीका गुरु नवराज बरालसँग संगीत सिकेका बुद्ध पोखरामा आयोजना भएको ‘बिग आइकन-२०११’मा चौथो भए ।

चार वर्षअघि उनले आफ्नै कम्पोजिसनमा ‘कसरी तिमीलाई’ बोलको गीत पनि रेकर्ड गराएका थिए । साथीहरुसँग मिलेर उनले ताण्डव नामको ब्याण्ड पनि बनाएका थिए । तर, एक सदस्यको निधन भएपछि ब्याण्ड भताभुंग भयो ।

गएको वर्ष पोखराको महेन्द्र माविबाट एसईई परीक्षा उत्तिर्ण गरेका उनले त्यसपछि टूरिजम् हस्पिटालिटी म्यानेजमेन्ट पढिरहेका छन् । साथै पोखराकै गुरुकुल संगीतालयमा संगीत सिकिरहेका छन् । साभार: रासस

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |