मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

झापा, असोज १२ – मोटरसाइकल र स्कुटर ठोक्किँदा झापाको कमल गाउँपालिकामा बिहीबार बेलुका दुईजनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

कमल गाउँपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गको पाडाजुंगी सडकखण्डमा बेलुका ६ बजेतिर मे ४ प ३५२४ नम्बरको स्कुटर र को १५ प ८४३३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल र स्कुटर दुवैका चालकको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

ज्यान जानेमा मोटरसाइकल चालक दमक–९ का २५ वर्षका राजन खड्का र स्कुटर चालक दमक–५ का २८ वर्षका सुनिल सुवेदी छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि दमक ल्याउने क्रममा बाटोमानै ज्यान गएको इप्रका दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

दुर्घटनामा स्कुटरमा सवार दमक–६ का २७ वर्षका सुवास निरौलाको अवस्था गम्भीर रहेको र उनको थप उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको जनाइएको छ । रासस

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |