रेडियो प्रस्तोता तथा गायक बासुदेव मुनालको निधन

काठमाडौं, असोज १२ – रेडियो प्रस्तोता तथा गायक बासुदेव मुनालको निधन भएको छ । घाँटीमा भएको क्यान्सर (पाइरोफ़ोम साइनस) को उपचारमा रहनुभएका मुनालको ६८ वर्षको उमेरमा भक्तपुर क्यान्सर अस्पतालमा बिहीबार निधन भएको हो ।

केही बेरअघि फेसबुक पोस्टमार्फत रेडियो नेपालका उपनिर्देशक तथा संगीतकार/गायक टीका भण्डारीले मुनालको निधनबारे जानकारी गराउनुभएको छ । मुनालका छोरा मोहितले आफूलाई घटनाको जानकारी गराएको भण्डारीले उल्लेख गर्नुभएको छ । रेडियो नेपालको बाल कार्यक्रममार्फत स्रोतामाझ परिचित मुनाललाई ११ वर्षअघि लडेर ब्रेन ह्याम्ब्रेजसमेत भएको थियो ।

विराटनगरमा बिस २००६ सालमा जन्मिनु भएका उहाँले रेडियो नेपालमा ४ दशक बिताउनु भयो। ‘उहाँले रेडियो नेपालबाटै आफ्नो करियर सुरु गर्नु भएको हो। रेडियो नेपालको बाल कार्यक्रमले नै उहाँलाई बालबालिका बिच मात्र नभएर सिङ्गो नेपाली समाजमा नै रेडियो प्रसारणको एक सफल हिरो बनायो, सूचना र संचारको क्षेत्रमा एक लोकप्रिय कार्यक्रम प्रस्तोताको रुपमा चर्चित बनायो’ भण्डारीले लेख्नुभएको छ ।

मुनाल रेडियो प्रस्तोतासँगै गीतकार र गायक पनि हुनुहुन्छ । उहाँले थुप्रै लोक शैलीका गीतहरु गाउनु भएको छ। पानी खाने निउँले तिम्रो घरमा आउँला, लालुपाते फुलेर लाल भयो, बाँसुरीको धुनमा मादलुको तालमा, झम झम इष्टकोट (पाण्डव सुनवारसँग युगल) आदि उहाँका धेरै चलेका लोक गीतहरु हुन् ।

भण्डारीले आज मुनालको निधनको खबरले आफू मर्माहत बनेको र झापा जाँदै गर्दा गाडी रोकेर घटनाबारे जानकारी गराएको उल्लेख गर्नुभएको छ । स्रोत: उज्यालो अन्लाईन

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |