खजुरगाछीको चर्च विष्फोटनका मुख्य योजनाकार काठमाडौंबाट पक्राउ
गौरीगन्ज | झापाको खजुरगाछीमा क्रिष्चियन धर्मको बिरोध गर्दै चर्चमा दुई वर्षअघि बम विस्फोट गराउने घटनाका मुख्य योजनाकारलाई प्रहरीले बुधबार काठमाडौंबाट पक्राउ गरेको छ ।
मकवानपुर हटिया-५ घर भई हाल काठमाडौं महाराजगंज, काठमाडौं बस्ने ३९ वर्षका बिजय शर्मा भन्ने माधबप्रसाद भण्डारीलाई अपराध महाशाखाको टोलीले काठमाडौंको रामशाहपथबाट बुधबार पक्राउ गरेको हो । भण्डारी हिन्दु मोर्चा नेपालका केन्द्रीय संयोजकसमेत रहेको प्रहरीले जनाएको छ ।
धर्म निरपेक्ष राष्ट्र घोषणा भएपछि नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न दवाव दिन भन्दै भण्डारीले ०७२ भदौ २८ गते राती करिब साढे ११ बजे झापाको तत्कालिन खजुरगाछी गा. वि. स. - ६ साबिक गौरीगन्ज गा. पा. स्थित इमानुयल वेस्लेयान चर्चमा विष्फोट गराएर सर्बसाधारण मानिसलाई आतंकित पारी फरार भएको प्रहरीको भनाई छ ।
पक्राउ परेका भण्डारीलाई विष्फोटक पदार्थ ऐन २०१८ तथा संगठित अपराध निवारण ऐन २०७० अनुसार कारवाही हुने प्रहरी प्रवक्ता उप्रेतीले बताए ।



