गौरादहको नगरसभाले गर्यो बार्षिक बजेट सार्बजनिक
गौरादह, 20 पुस . झापाको गौरादह नगरपालिकाले चालु आर्थिक बर्षका लागि रु ८२ करोड बढीको अनुमानित वजेट सार्वजनिक गरेको छ ।
विहिबार पहिलो नगरसभाले नगरपालिकाको ८२ करोड ७ लाख ३६ हजार १९४ रुपैयाको अनुमानित आयव्यय सार्वजनिक गरिएको हो । वजेटको चालु खर्च तर्फ आम्दानीको ४६.३६ प्रतिशत अर्थात रु ३८ करोड ४ लाख ३२ हजार ४ सय र पूँजीगत खर्च तर्फ ५३.६४ प्रतिशत अर्थात रु ४४ करोड ३ लाख ३ हजार ७४४ बिनीयोजन गरिएको नगर प्रमुख रोहित शाहले जानकारी दिए ।
नगर प्रमुख शाहले गौरादह नगरलाई पर्यटकीय, शैक्षिक व्यापारिक, व्यवसायीक तथा बसोबास योग्य हरितसंगै आधुनिक स्मार्ट सिटी बनाउन बजेटसहितको नीति तथा कार्यक्रमले जोड दिईएको बताए ।
९ वटा वडा रहेको नगरको पछिल्लो जनसंख्या करिव ६६ हजार हाराहारीमा पुगेको नगरपालिकाले जनाएको छ । झापा क्षेत्र नम्बर ५ का प्रदेशसभा सदस्य हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा भएको नगर सभा उद्घाटन कार्यक्रममा निर्वतमान सांसद दिपक कार्की, नगर उपप्रमुख गीता भेटवाललगायतले बोलेका थिए ।



