जाडोका कबिताहरु

त्यसो त जाडो महिनालाइ कवि साहित्यकारहरुले रोमान्टिक सिजनका रुपमा लिने गरेका छन् । श्रृँगारिक धारका कवि गजलकारहरु यस मौसमलाइ लिएर थुप्रै गीत गजल कबिताको सिर्जना गरेको पाइन्छ । अहिले तराइको गौरीगँज लगायत देशभर जाडोले उधुम मच्चाइ रहेको छ । यसै सेरोफेरीमा हामीले देशका केहि चर्चित साहित्यकार तथा कविहरुले जाडो मौसमलाइ विषय बनाएर लेखेका कबिता गजलहरुलाइ खोजेर यहाहरु समक्ष प्रस्तुत गरेका छौ ।

१

यात्रीलाइ बाटो प्यारो हुन्छ

बेहुलीलाइ रातो प्यारो हुन्छ

तँलाइ के प्यारो लाग्छ भनेर सोध्नै पर्दैन

चिसोमा तातो प्यारो लाग्छ ।

–डा कृष्णहरि बराल

२

कठ्याँग्रिदो जाडो

तिम्रो मेरो सम्वन्ध

आँगन भरि तुषारो

बनभरि हिउ मनभरि हिउ

तिम्रो मेरो सम्वन्ध

पग्लिए परेलीका डिलबाट

–सुदन डोटेल

३

कान्छी निन्द्रा विहानीको

गाढामा माया रुइको

साँझ बाल्दा झरी मिटी

उस्तै माया फुइको

लान्छ क्या हो असति पुसले

व्यवस्था पो गर्नु पर्यो अव यि दुइको

महेश आचार्य

४

सोच्दै मक्ख पर्दैछु म

हुन्थ्यो कति दामी

चिसो यो ठाउँ छोडी न्यानो घाम लागेको

त्यो डाँडामा जान पाए हामी

वर्षा बस्नेत

५

चिसोको बहाना छ

तातिने चाहाना छ

तातिदा मातिदा भुसुक्क निन्द्रा लागोस

बहानाबाज सवैलाइ यहि कल्पना छ

– लोकराज अधिकारी

६ शिशिरको कठ्याँग्रिदो जाडोमा

विहानै जव म त्यहि बाटो भएर हिड्छु

जुन बाटो हामी

धेरै पटक सँगसँगै हिडेका थियौ

प्रेमका न्याना शव्दहरु साटासाट गर्दै

तिनै शव्दहरु म जस्ताका तस्तै सम्झन्छु

यो जाडो छल्नलाइ

– विजय शिवाकोटी

७

ल्याम्पपोटस्मुनि आगो तापिरहेछन्-नानीहरू

युगौं देखि छ-जाडो

उहिल्यै त दाउरा बाल्थे रे ताप्न

बाल्थे रे-पानी र हावा

हामीले बाल्यौं टायर भत्केका मिनी बसका

बाल्यौं खबरकागज र राजनेताका पम्प्लेट

आज नानीहरू बालिरहेछन्- धर्मग्रन्थका अन्तिम पृष्ठ

फिल्म फेयर र आधुनिक कविता

के बाल्लान् भोलिका नानीहरू?

के बाल्लान् हँ ......?

युगौं देखि छ- जाडो

ल्याम्पपोस्टमुनि आगो तापिरहेछन्- नानीहरू।

पुरानो मानिस

यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न

सबभन्दा नयाँ कुरा चाहिन्छ

तिमीसित अब

के छ त्यस्तो कुरा......?

सुधारिएको प्रजातन्त्र ?

गणतन्त्र ?

अत्याधुनिक बन्दुक

टयाङ्क, मिसाइल, रकेटलन्चर

वा-

जैविक हतियार

अथवा-

अन्तर्राष्ट्रिय गीत......?

घर जलाइदियौ

घर संगै-

उसका बालबच्चाहरू जले

श्रीमती, दाजुभाइ र इष्टमित्रहरू जले

उसले लगाएको भाङ्ग्रा, भोटो र गादो जल्यो

बक्खु, धोती र हाकुपटासी जल्यो

थाहा छ

ऊ किन जलेन ?

उसलाई आतङ्ककारी भन्यौ

सरकारी गुप्तचर भन्यौ

त्रि्रो चरम यातनाले

उसका विनयी हातहरू छिनालिए

निर्दोष आँख र जिब्रो थुतिए

घाँटी र खुट्टाहरू गिँडिए

उसको पृथिवीजस्तो मुटुलाई

सङ्गिनले उनेर

विजयको हुङ्कार गर्‍यौ

तर थाहा छ

ऊ किन मरे ?

यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न

सबभन्दा नयाँ कुरा चाहिन्छ

तिमीसित अब

के छ त्यस्तो कुरा......?

भाषा ?

धर्म ?

जाति

संस्कृति, सम्प्रदाय, राष्ट्रियता

वा-

मानवअधिकार

अथवा-

सुप्रिम अमेरिका ?

तिमीसित अब

के छ बाँकी त्यस्तो कुरा......?

जसले-

यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न सक्छ ?

के तिमी -

खेतमा धानको गन्धलाई मार्न सक्छौ ?

के तिमी -

पहाडमा बतासको गन्धलाई मार्न सक्छौ ?

के तिमी -

समुıमा पानीको गन्धलाई मार्न सक्छौ ?

तिमीसित अब

के छ त्यस्तो कुरा....

भन ! के छ ?

जसले -

यस धरतीको पसिनाको गहु“गोरो गन्धलाई मार्न सक्छ

-श्रवण मुकारुंग

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |